
सुनाखरी न्युज/ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो ।सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले दिएको जानकारीअनुसार संसद् बाहिर रहेका दलका नेताहरूको पनि बैठकमा उपस्थिति छ । बैठकअघि नेता आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालनलगायत विषयमा छलफल हुने बताएका थिए ।
त्यस्तै, विभिन्न घटनासँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र अनुसन्धान निष्पक्ष हुनुपर्ने विषय पनि बैठकको एजेन्डामा रहेको उनले बताएका थिए । यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथिको धरपकड र न्यायालयसँग जोडिएका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता आङ्देम्बेले पत्रकारमाथिको धरपकडलगायत सरकारका विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका थिए । ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ,’ उनले भनेका थिए ।