
सुनाखरी न्युज/ काठमाडौं ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।
एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले अध्यक्ष चयनसँगै आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८३-८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।
चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । थकालीले वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
साधारणसभाले अध्यक्ष दिनेश थकालीसहित उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, ज्योति विकास बैंकका सीईओ कपिल ढकाल, कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिँजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं चयन भएका छन् ।
हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन् ।