
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाली चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ ९यूआईएए० को महासभामा नेपाल पर्वतारोहण संघ ९एनएमए० ले उक्त प्रस्ताव प्रस्तुत गरेको हो।
एनएमएका अध्यक्ष फुर्वा गेल्जे शेर्पाले थप ६ वटा चुचुराको विवरण र तिनलाई छुट्टाछुट्टै आठहजारी हिमालका रूपमा मान्यता दिनुपर्ने आधारसहितको अध्ययन प्रतिवेदन महासभामा पेस गरेका छन्।शुक्रबारदेखि काठमाडौंमा सुरु भएको यूआईएएको साधारणसभामा बोल्दै मन्त्री पौडेलले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरिएको बताए ।
प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन् । नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । त्यस्तै, नेपालमा मात्रै रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ । यससँगै विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनेछ ।
नेपाल पर्वतारोहण संघको आतिथ्यमा आयोजित सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन् । नेपालले यसअघि सन् १९८२ / २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरिसकेको छ । मन्त्री पौडेलले प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहलले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’सम्मेलनलाई हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणका साथै जलवायु परिवर्तनले निम्त्याएका हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण र पर्वतीय समुदायको जीविकोपार्जनका विषयमा अन्तर्राष्ट्रिय छलफल गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।