२०८३ कार्तिक १४ , शुक्रवार

भुटानमा हिमताल फुट्दा तातोपानी कुण्ड बग्यो , भारतमा बाढीको चेतावनी

flood

सुनाखरी न्युज/ काठमाडौं ।

भुटानको उत्तरी गासा जिल्लामा रहेको एक हिमताल फुटेको छ । भीषण बाढीले त्यहाँको प्रख्यात ‘गासा छाछु’ तातोपानी कुण्ड बगाएको छ । बाढीका कारण पुनाखा(गासा जोड्ने राष्ट्रिय राजमार्गमा समेत क्षति पुगेको छ । हाल क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । ‘डेली भुटान’का अनुसार बिहीबार साँझ लाउङ्गोस्थित वाकिला हिमाल नजिकै रहेको सिन्ताफु हिमताल फुटेको थियो । हिमताल फुटेपछि मो छु नदीमा आएको बाढीले नदी किनारमा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको ‘गासा छाछु’ तातोपानी कुण्ड पूर्ण रूपमा बगाएको हो ।

बाढीका कारण पुनाखा-गासा सहायक राष्ट्रिय राजमार्गको ३१।८५ किलोमिटर खण्ड पूर्ण रूपमा बगेपछि यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ । भुटानको दुर्गम उच्च हिमाली बस्ती लायासँग जोड्ने सडक खण्डमा पनि बाढीले क्षति पुर्‍याएको छ । बाढी आउनुअघि नै चेतावनी साइरन बजाइएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएकाले हालसम्म कुनै मानवीय क्षतिको खबर नआएको अधिकारीहरूले जनाएका छन् । ताल फुट्नुको मुख्य कारण र बगेको पानीको परिमाणबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

मो छु नदीको मुहानमा अवस्थित सिन्ताफु ताल भुटान सरकारले पहिचान गरेका १७ वटा ‘अत्यन्त जोखिमयुक्त’ हिमतालको सूचीमा पर्दछ । सन् २०२३ को मे र जुन महिनामा विशेषज्ञहरूले यस तालको स्थलगत अध्ययन गरी निगरानीका उपकरणहरू समेत जडान गरेका थिए ।भुटानमा हिमताल फुटेपछि भारतको केन्द्रीय जल आयोगले पश्चिम बंगाल र असम राज्यका लागि विशेष बाढी चेतावनी जारी गरेको छ। नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भन्दै पश्चिम बंगालको अलिपुरद्वार र असमको धुबरी जिल्ला प्रशासनलाई उच्च सतर्कता मा राखिएको छ ।