२०८३ कार्तिक १४ , शुक्रवार

आजको मौसमः काठमाडौं उपत्यकासहित पूर्वी नेपालका धेरै ठाउँमा पानी पर्ने क्रम दिउँसोदेखि बढ्ने

weather-1

नाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकासहित पूर्वी नेपालका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ।

रातभरि रोकिँदै र फेरि पर्दै गरेको झरीले शुक्रबार बिहानसम्म पनि विश्राम लिएको छैन। काठमाडौं उपत्यकासहित पूर्वी नेपालका धेरै ठाउँमा रातभरि पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले नेपालमा परिरहेको वर्षा चक्रवात ‘अर्नब’को अवशेष प्रणालीको प्रभाव हो।

चक्रवात समुद्रमा रहँदा शक्तिशाली हुने भए पनि जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ। अर्नब पनि चक्रवातबाट कमजोर हुँदै न्यूनचापीय क्षेत्रका रूपमा परिणत भएको छ।

तर प्रणाली कमजोर हुँदैमा त्यसको प्रभाव तत्कालै सकिने होइन। बरु यो प्रणाली नेपाल नजिकिँदै गर्दा वर्षाको मात्रा बढ्ने देखिएको दाहालले बताए।

अब दिउँसोपछि यो वर्षा अझ फैलिने र राति पूर्वी नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

बंगालको खाडीमा विकसित भएर भारतको पूर्वी तट हुँदै जमिनमा प्रवेश गरेको चक्रवात ‘अर्नब’ अहिले कमजोर भइसकेको छ।

तर त्यसको प्रभाव भने नेपालमा देखिन थालेको छ। चक्रवातको अवशेष प्रणाली नेपाल नजिकै भारतीय भूभागमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ।

यही प्रणालीको प्रभावले बिहीबार रातिदेखि नेपालका विभिन्न ठाउँमा वर्षा भइरहेको हो।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश भूभाग र पूर्वको कोशी प्रदेशसम्म वर्षा भएको छ।

रातभरि परेको पानीको मात्रा हेर्दा काभ्रेको रोशीमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा पनि १८ देखि २६ मिलिमिटरसम्म पानी परेको छ।