२०८३ कार्तिक १३ , बिहिवार

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

photo_b70b849d

सुनाखरी न्युज/ काठमाडौं ।

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर  ( टोल शुल्क ) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णयअनुसार आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन प्रक्रिया सुरु गर्न लागिएको जनाएको हो।

यसअघि सरकारले २०८२ चैत २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा- नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको क्षमता र वर्गअनुसार छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको थियो।कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनिबस तथा मिनिटिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।गत साउन ११ गते उद्घाटन भएको यो सुरुङमार्गमा हालसम्म परीक्षणका रूपमा मात्र सवारीसाधन सञ्चालन गरिँदै आएको थियो।