
सुनाखरी न्युज/ काठमाडौं ।
कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा नवजात शिशुको शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीया महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कात्तिक ३ गते साँझ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको एक घरको शौचालयको च्याम्बरमा नवजात पुरुष शिशुको शव फेला परेको थियो।
शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा शिशुको शव देखिएको थियो। घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक मुचुल्का तयार गरेको थियो। त्यसपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पोखरा महानगरपालिका–२१ माइतीघर भएकी र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी ठेगाना भएकी ती महिला घटनापछि सम्पर्कविहीन रहेको खुलेको थियो। खोजी गर्ने क्रममा प्रहरीले उनलाई कात्तिक ४ गते राति पोखरा–२१ लुकुन्स्वाराबाट नियन्त्रणमा लिएको हो।