२०८३ कार्तिक १२ , बुधवार

अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने

Nagarikta_Citizenship1695627782_1024

 

सुनाखरी न्युज/ काठमाडौं । 

अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।नेपाल नागरिकता  ( पाँचौँ संशोधन)  नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो। सर्कुलरपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेक नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा भने अन्य जिल्लाका नागरिकको चाप बढ्न सक्ने भन्दै तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकलाई तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली  ( एनआईडीएमआईएस)  र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली  ( सीसीआईएमएस )  मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।

अभिलेख नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा तथा पहिलो दृष्टिमै नागरिकता शङ्कास्पद देखिएमा भने सम्बन्धित व्यक्तिले साविकमा नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, यस व्यवस्थाको कार्यान्वयनका लागि गृह मन्त्रालयको मिति २०८३/ ७ / ९ को परिपत्र अनुसार काठमाडौं उपत्यकामा बसोवास गर्ने अन्य जिल्लाका नागरिकको हकमा सेवाग्राहीको चाप बढ्ने सम्भावना रहेको हुदा देहाय बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाइएको छः–

– जिल्ला प्रशासन कार्यालय, काठमाडौँ वा अन्तर्गतबाटः– बागमती, गण्डकी र लुम्बिनी प्रदेशका

-जिल्लाका सेवाग्राहीको सेवा। जिल्ला प्रशासन कार्यालय, ललितपुर वा अन्तर्गतबाटः कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्लाका सेवाग्राहीको सेवा ।

-जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा अन्तर्गतबाटः– कोशी प्रदेश र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीको सेवा ।

माथि उल्लिखित प्रकृतिका नागरिकताको प्रतिलिपिका लागि यस कार्यालयमा निवेदन पेश गर्नु हुने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकता प्रमाणपत्र वाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली  र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसँग हुबहु भिडेको अवस्थामा नागरिकता प्रतिलिपि जारी गरिनेछ ।