
सुनाखरी न्युज/ काठमाडौं ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ( एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ ( क्यान ) का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।
हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । उक्त टिम यसपालि पहिलो सिजनको इतिहास दोहो¥याउने लक्ष्यमा छ । अर्कातर्फ कर्णाली पनि पहिलो उपाधिको खोजीमा छ । आजै हुने पहिलो खेलमा प्रतिस्पर्धा गर्ने चितवन र विराटनगर पनि उपाधि हात पार्ने उद्देश्यले मैदानमा उत्रदै छन् ।
यस पटकको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ ( डिआरएस ) को व्यवस्था गरिएको छ । यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् ( आइसिसी ) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले पुरस्कार राशि पनि वृद्धि गरेको छ। प्रतियोगितामा उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ ।