
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ८७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार राति ‘स्विप अपरेसन’ चलाएको छ। स्विप अपरेसन सञ्चालन गरेर र फरार रहेकाहरूलाई खोजी गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।
कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्ममा स्विप अपरेसन सञ्चालन गरेर प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । स्विपको क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण चेकजाँच गरेर मुद्दा चलाउने वा रिहा गर्ने भन्नेबारे निर्णय गरिन्छ ।
अदालतबाट कैद र जरिवाना हुने फैसला भएका ८ जना र अदालतबाट पक्राउ अनुमति जारी भएर अनुसन्धानको क्रममा रहेका ४ जनालाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाएको हो।