
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारले आनी छोइङ डोल्मा ( छोइङ डोल्मा लामा मोक्तान ) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको सहभागितामा भएको प्रदर्शनमा आनीको नियुक्ति खारेज गर्न माग गरिएको छ ।
प्रदर्शनकारीहरूले आनीको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्न पनि माग गरेका छन् । उनीहरूले नियुक्तिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो । सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ’ सिंहले भने ।
सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे । उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ ।

