२०८३ कार्तिक १० , सोमवार

चोभारको आदिनाथ मन्दिरमा आजदेखि एकमहिने मेला शुरु

chovar-aadinath1

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ । मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ असोज शुक्ल  ( कोजाग्रत )  पूर्णिमाका दिन शुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।

यस मेलामा काठमाण्डौ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्छन् । मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्छ ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्छन् । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वर र करुणाका प्रतीकका रुपमा पूजा गर्ने चलन छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा आदिनाथलाई पूजन गर्ने चलन छ ।

काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदहजस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल छन् । काठमाडौँ उपत्यका दहका रुपमा रहेकामा मञ्जुश्रीले खड्ग प्रहार गरी पानीलाई निकास दिएको चोभार गल्छी पनि यसै स्थानमा छ ।