२०८३ कार्तिक २ , आइतवार

दसैँ मनाउन गाउँ फर्किने बढे, काठमाडौंका सडकमा सवारी चाप घट्दै

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि राजधानीका सडकमा सवारीसाधनको चाप घट्न थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्।

असोज २५ गतेदेखि ३० गतेसम्मको अवधिमा मात्रै ठुलो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकामा चल्ने सार्वजनिक यातायातको चाप घट्न थालेको छ। रिजर्भमा यात्रु ओसार्ने क्रम बढ्दा दसैँमा घर फर्किने नागरिकलाई गन्तव्यसम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ । दसैँ मनाउन राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाको जनघनत्व र सवारी चापमा समेत कमी आउन थालेको छ ।