२०८३ आश्विन ३० , शुक्रवार

दशैंको छैटौं दिन कात्यायनी देवीको पूजा आराधना गरिँदै

katyayani_wy9y0gHFK9

सुनाखरी न्युज/ काठमाडौं ।

बडा दशैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदैछ । देवी कात्यायनी हिन्दु धर्ममा महादेवी दुर्गाको नौवटा रुपमध्ये एक शक्तिशाली रुप हुन् । उनलाई हिन्दु धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरुबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।

पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए । कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन् ।

उनले अत्याचारी दानव महिषासुरको वध गरेकोले ‘महिषासुरमर्दिनी’ नामले पनि चिनिन्छिन् । यस्तै, भगवान् श्रीकृष्णलाई पतिका रुपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेको थिइन् । अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ ।

शास्त्रमा कात्यायनी देवीको उमा, गौरी, काली, हेमावती वा ईश्वरीजस्ता अनेकौं नाम उल्लेख छ । उनीमा काली र चण्डिका पनि निहित रहेको यजुर्वेदको तैत्तिरीय आरण्यकमा बताइएको छ ।