
सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगिने भएको छ । नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दसैं नजिकिँदै गर्दा मूल्य अझ बढ्ने व्यापारीको अनुमान छ । गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले यसको मूल्य प्रतिकिलो १६ सयदेखि १७ सय रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा विभिन्न जिल्लाबाट खसीबोका काठमाडौँ ल्याउन कठिन भएको छ ।
ढुवानी खर्च बढ्नु र बजारमा आपूर्ति घट्नुले पनि मूल्य बढेको उनीहरूको भनाइ छ । कलंकी खसीबजारमा जिउँदो खसीबोकाको मूल्यसमेत प्रतिकिलो ७५० देखि ८५० रुपैयाँसम्म पुगेको छ । गत वर्षको दशैँमा जिउँदो खसीबोका प्रतिकिलो ६५० देखि ७०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।अहिले बजारमा मासुको मूल्य प्रतिकिलो १७०० रुपैयाँसम्म रहेको छ ।
गाउँमा खसी बोकाको उत्पादन कम हुनु र हालैको बाढी पहिरोले देशका विभिन्न भागका राजमार्ग र सडकहरू अवरुद्ध हुँदा ढुवानीमा ठुलो समस्या परेकाले मूल्य बढेको केन्द्रका अध्यक्ष जीवनराज खतिवडाले बताएका छन् । मूल्यवृद्धिका कारण दशैँमा मासु किन्ने उपभोक्ताको खर्च बढेको छ । बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ । यता खसीबोकासँगै दशैँमा कुखुराको मासुको मूल्य पनि बढेको छ ।