
सुनाखरी न्युज/ काठमाडौं ।
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानमा आफ्नो परिवारको नाममा घर रहेको स्वीकार गरेका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । “जापानमा मेरो नामको कम्पनी छैन । सेयरमा लगानी गरेको छैन । जापनमा मेरो घर छ । ४ आना पनि नभएको ठाउँमा घर । घर श्रीमतीको स्वामित्वमा छ,” थापाले भने, “राजदूत भएँ भने परिवारको कुरा त्यहाँको कानुनी व्यवस्थाअनुसार मिलाउँछु ।”राजदूत नियुक्त भएमा आफ्नो पारिवारिक अवस्थालाई जापानको कानुनी व्यवस्थाअनुसार व्यवस्थापन गर्ने उनको भनाइ थियो । नेपाल र जापान दुवै देशको हितमा काम गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू राजदूतका लागि प्रस्तावित भएको उनले बताए ।
सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानी स्थायी आवासीय अनुमतिपत्र ( पीआर ) र पारिवारिक अवस्थाबारे प्रश्न उठाएका थिए । जवाफमा उनले पीआर प्राप्त गर्दैमा नागरिकता नै नरहने भन्ने बुझाइ गलत भएको दाबी गरे । “जापानले सात वर्षको पीआर दिने हो । जापानमा रहेका श्रीमती र छोराछोरीको नेपाली नागरिकता छ, पीआर भिसा हो,” उनले भने ।
आफू नेपाली पहिचानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै थापाले आफ्ना तस्बिरमा समेत नेपाली पोसाक ढाकाटोपी लगाउने गरेको बताए । जापानका विषयमा आफूले राख्ने धारणासमेत नेपालको हितसँग जोडिएको उनको भनाइ थियो ।