२०८३ आश्विन २८ , बुधवार

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?

607430787_1270278881800672_3360607824128875946_n

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ। बुधबार बिहान ५ : ४५ बजेको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार गत अक्टोबर १ तारिखमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै क्रमशः १८, १७, १६ र १५ हुँदै १४ डिग्री सेल्सियसमा झरेको हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८ : ४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५: ४५ बजे मापन गरिन्छ। बिहान ८ : ४५ बजेको वास्तविक मापनमा प्रारम्भिक तथ्यांकभन्दा तापक्रम अझै थोरै घट्न सक्ने सम्भावना रहन्छ।

देशभर पश्चिमी वायुको प्रभाव फैलिएसँगै चिसो बढ्दै गएको हो। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव रहेको छ। यद्यपि सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको छ।

देशका बाँकी भूभागबाट पनि छिट्टै मनसुन पूर्ण रूपमा बाहिरिने मौसमविद्को भनाइ छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि ‘पोस्ट – मनसुन’ सिजन सुरु हुन्छ, जुन अक्टोबर र नोभेम्बर गरी दुई महिनासम्म रहन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना नेपालमा हिउँद  ( विन्टर )  अर्थात् जाडो याम लाग्छ। हिउँद सकिएपछि मार्च १ देखि मे महिनासम्म तीन महिना ‘प्रि – मनसुन’ सिजन रहन्छ र त्यसपछि पुनः मनसुन प्रवेश गर्छ।