२०८३ आश्विन २६ , सोमवार

दसैँ मनाउन गाउँ फर्किनेको लर्को (फोटोफिचर)

people_dashain_out_valley_ADHIKARI_KABIN_00012

 

सुनाखरी न्युज/ काठमाडौं ।
बडादसैँ नजिकिएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले १७ देखि २५ असोजसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिए ।

उनका अनुसार १७ असोजमा १८ हजार ७२९, १८ असोजमा १९ हजार ५३०, १९ असोजमा २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।