
सुनाखरी न्युज/ काठमाडौं।
बडादशैं नजिकिएसँगै आफ्नो घरगाउँ फर्किने यात्रुहरूको चाप अत्यधिक बढेको छ। दशैंको पावन अवसरमा परिवार तथा आफन्तसँग भेटघाट गरी मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किरहेका छन्।
दशैंमा घर फर्किने यात्रुहरूको संख्या तीव्र रूपमा बढेपछि यातायात व्यवसायीहरूलाई यात्रु व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको खराब अवस्थाका कारण यातायात व्यवस्थापनमा जटिलता थपिएको बताए।
महासङ्घले सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको मापदण्ड अनुसारको भाडा मात्र तिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।
दशैं पर्वले परिवार, आफन्त र समुदायबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ तथा मधुर बनाउने भएकाले रोजगारी, अध्ययन र विभिन्न व्यवसायका क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष जस्तै यस वर्ष पनि निरन्तर बढिरहेको छ।