२०८३ आश्विन २५ , आइतवार

आज घटस्थापना, जमरा राख्ने बिषयमा दोधार

Jamara

सुनाखरी न्युज/ काठमाडौं ।

आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् ।

आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र वा वैधृति योग परेमा शुभ नहुने भनाइ छ । चित्रा नक्षत्र परेमा धननाश हुने र वैधृति योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ ।

 

यस वर्ष असोज २५ गते आइतबार आश्विन शुक्ल प्रतिपदा तिथिको दिन राति १० बजेर ५४ मिनेटसम्म चित्रा नक्षत्र र राति १० बजेर ३० मिनेटसम्म वैधृति योग छ । त्यसैले कतिपयले असोज २६ गते घटस्थापना गर्नुपर्ने तर्क गरेका हुन् ।

 

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन पूरापर चित्रा नक्षत्र वा वैधृति योग परेमा सकभर यी दुवैको घटी–पला बितेपछि घटस्थापना गर्नुपर्ने बताइन्छ ।

पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको शुभसाइत निकाल्दा मध्याह्न काल र अभिजित मुहूर्तको मध्य पारेर आज बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरेको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको हो ।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता भएकाले भोलि २६ गते घटस्थापना गर्ने भनी चलाइएको हल्ला शास्त्रसम्मत नहुने उनले बताए ।