
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा महिला संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। मलङ्गवामा आयोजित महिला जिल्ला भेलाले खातुनजीको अध्यक्षतामा २१ सदस्यीय संघीय समाजवादी महिला संगठन जिल्ला कमिटी गठन गरेको छ। सोही कार्यक्रममा नेकपा ( माओवादी केन्द्र ) सहित विभिन्न राजनीतिक दल तथा समूहमा आबद्ध ५१ जना नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन्।
सयौँ महिलाको सहभागितामा सम्पन्न भेलाले जिल्लाका सबै पालिका, वडा, गाउँ तथा टोलसम्म महिला संगठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महिलालाई सामाजिक, राजनीतिक, आर्थिक तथा शैक्षिक अधिकारका लागि संगठित गर्दै नेतृत्व र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा भेलामा जोड दिइएको थियो। भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रिजवान अन्सारीले महिलालाई राजनीतिको मूलधारमा ल्याएर राज्यसत्ताको निर्णायक तहमा स्थापित नगरेसम्म वास्तविक सामाजिक परिवर्तन सम्भव नहुने बताए।
महिला केवल मतदाता वा राजनीतिक कार्यक्रममा सहभागी हुने समूहमा सीमित हुन नहुने उल्लेख गर्दै उनले नीति निर्माण र राज्यसत्ताको नेतृत्वमा महिलाको निर्णायक भूमिका हुनुपर्ने धारणा राखे। महिलाको शिक्षा, रोजगारी, आर्थिक आत्मनिर्भरता, सम्पत्तिमाथिको अधिकार तथा राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न संगठित र निरन्तर महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष अन्सारीले सर्लाहीबाट सुरु भएको महिला संगठन विस्तार अभियानलाई जिल्लाका सबै पालिका, वडा र गाउँसम्म पुर्याएर सचेत, सशक्त र संगठित महिला शक्ति निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताए।
कार्यक्रममा पार्टी उपाध्यक्ष, पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री एवं मधेश प्रदेशसभा सदस्य बिमला अन्सारीले महिलाको सामाजिक, राजनीतिक तथा आर्थिक उत्थानका लागि उनीहरू स्वयं संगठित भएर अघि बढ्नुपर्ने बताइन्। महिलालाई घरको सीमाभित्र मात्र सीमित नराखी नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले महिला अधिकार र सामाजिक न्यायका लागि निरन्तर संघर्ष गर्न आह्वान गरिन्।
अर्बाज मन्सुरीसहित ५१ जना पार्टी प्रवेश
यसैबीच, कार्यक्रममा मलङ्गवा नगरपालिकाका युवा नेता अर्बाज मन्सुरी नेकपा ९माओवादी केन्द्र० परित्याग गर्दै नेपाल संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनीसँगै विभिन्न राजनीतिक दल तथा समूहमा आबद्ध ५१ जना नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेको पार्टीले जनाएको छ। त्यस्तै, सर्लाहीको बस्तपुरबाट गत निर्वाचनमा मेयरका उम्मेदवार रहेका सलीम अन्सारी पनि आफ्ना समर्थकसहित पार्टीमा प्रवेश गरेको जनाइएको छ।
नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष रिजवान अन्सारीलगायत नेताहरूले स्वागत गर्दै पार्टीको नीति, विचार र संगठन निर्माण अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। भेलाकै अवसरमा मलङ्गवा नगर कमिटीअन्तर्गत संघीय समाजवादी महिला संगठनसमेत गठन गरिएको छ। साथै, जिल्लाका विभिन्न गाउँ तथा स्थानीय तहमा संगठन विस्तारका लागि गाउँ इन्चार्जसमेत तोकिएको पार्टीले जनाएको छ।
कार्यक्रममा सहभागी महिलाहरूले महिलामाथि हुने हिंसा, विभेद र सामाजिक असमानताको अन्त्य गर्दै शिक्षा, रोजगारी, आर्थिक आत्मनिर्भरता तथा राज्यका सबै तहमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक रूपमा संगठित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टीले भेलालाई सर्लाहीमा महिला संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै जिल्लाभर संगठन विस्तार गर्ने अभियानको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ।