
सुनाखरी न्युज/ काठमाडौं ।
चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी ( बटर ) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । चाडबाडको मौसम सुरु भएसँगै माग ह्वात्तै बढे पनि आपूर्ति सोही अनुसार हुँदा एक महिनाकै अवधिमा घिउको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसम्मले बढेको छ ।
चर्को मूल्य तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ता तथा मिठाइ व्यवसायीले बजारमा सहजै घिउ पाउन सकेका छैनन् । विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाहरूले प्रतिकेजी ७५० रुपैयाँमा नौनी बिक्री गर्दै आएका थिए भने उद्योगहरूका कोल्डस्टोरमा लाखौँ किलो घिउ मौज्दात रहने गर्थ्यो, तर अहिले बजारमा नौनीको भाउ बढाएर प्रतिकेजी ९५० देखि १ हजार रुपैयाँ र घिउको भाउ १२ सय ५० देखि १३ सय रुपैयाँसम्म पुर्याइएको छ ।
घिउको मौज्दात पनि लाखौँ किलो रहने गरेको थियो । अहिले तिज र दसैँको मुखमा घिउ अभाव हुँदा बजारमा भाउ बढाएर प्रतिकेजी ९५० देखि एक हजार रुपियाँसम्म पुर्याइएको छ । चर्को मूल्य तिर्न तयार हुँदासमेत बजारमा घिउ पर्याप्त मात्रामा उपलब्ध छैन । सरकारी तथा निजी डेरी उद्योगसँग मौज्दात पनि न्यून मात्र रहेको पाइएको छ ।
बजारमा देखिएको यो अभावबारे भने सरकारी निकाय र निजी डेरी उद्योगीका आ–आफ्नै तर्क छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ( डीडीसी ) ले दुध उत्पादनमै भारी गिरावट आएको दाबी गरेको छ । डीडीसी अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा हाल घिउ, नौनी र पाउडर दुधको मौज्दात रित्तिएको छ ।बजारमा निजी क्षेत्रले घिउ लुकाएर कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशङ्कालाई आयोजना प्रमुख शर्माले अस्वीकार गर्नुभयो ।