
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक गरेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीले अबदेखि ‘के गर्ने र के नगर्ने’ भन्ने स्पष्ट सीमारेखा कोरिएको छ।
दस्तावेजको खण्ड ९.७ मा प्रस्तुत गरिएको यो मापदण्डअनुसार अब कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जनाएको छ।
यसैगरी, संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति लिइएको छ।
नेतृत्वको सदिच्छामा मात्र भर नपरी यी मापदण्डलाई विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गरिने कांग्रेसले जनाएको छ।
अरूसँग मागिएको मापदण्ड आफ्नै निर्णयमा लागू गर्नु पार्टीको विश्वसनीयताको आधार हुने दस्तावेजमा उल्लेख छ।
कांग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक मर्यादाको पूर्ण सूची
क्षेत्र हामी के गर्नेछौं हामी के गर्नेछैनौं
लोकतान्त्रिक मूल्य लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा अडिनेछौँ। सत्ता, सुविधा वा तत्कालीन लाभका लागि मूल मूल्यमा सम्झौता गर्ने छैनौं।
राजनीतिक सहकार्य स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा सहकार्य गर्नेछौँ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य बनाउने छैनौं।
निर्वाचन र जनविश्वास आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्नेछौँ। निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर बनाउने छैनौँ।
सार्वजनिक संवाद तथ्य, तर्क, विकल्प र कामका आधारमा बहस गर्नेछौँ।
घृणा, अपमान, समग्र निन्दा, निराशा वा लोकरिभ्याइँलाई राजनीतिक विधि बनाउने छैनौं।
राज्यका संस्था न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउनेछौं। दलीय नियुक्ति र भागबन्डाको क्षेत्र बनाउने छैनौं।
सार्वजनिक नियुक्ति समावेशितासहित योग्यता, क्षमता र इमानदारीमा आधारित छनोट अघि बढाउनेछौंस संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफको व्यवस्था अघि सार्नेछौँ। दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबलाई नियुक्तिको आधार बनाउने छैनौँ।
सार्वजनिक स्रोत सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्नेछौँ। दल, गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग हुन दिने छैनौँ।
नीतिगत सदाचार स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नेछौँ। नीतिगत निर्णयको नाममा अनुचित लाभ दिने वा छानबिनबाट उम्काउने छैनौँ।
भ्रष्टाचार र न्याय निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण चल्न दिनेछौंस आफ्नै पक्षमा पनि एउटै नियम लागू गर्नेछौँ। आरोपितको पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप गर्ने छैनौँ।
समावेशी अवसर महिला, युवा र वञ्चितिकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउनेछौँ। प्रतिनिधित्वलाई संख्या, औपचारिकता वा सजावटमा सीमित गर्ने छैनौँ।
सदस्यको अधिकार नीति, नेतृत्व र उम्मेदवार छनोटमा सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ।
सदस्यलाई निर्देशन पालना र निर्वाचन परिचालनमा मात्र सीमित गर्ने छैनौं।
उम्मेदवार र जिम्मेवारी प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई छनोटको आधार बनाउनेछौँ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बनाउने छैनौं।
पार्टीको परिवार योगदानको सम्मान, कठिनाइमा साथ र समान अवसरको संस्कृति बनाउनेछौं। पदलाई पारिवारिक उत्तराधिकार वा आफ्नालाई सुरक्षित गर्ने माध्यम बनाउने छैनौँ।
असहमति र अनुशासन आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउनेछौँ। असहमतिलाई अनुशासनहीनता र आलोचकलाई शत्रु ठान्ने छैनौँ।
अधिवेशन र सदस्यता नियमित अधिवेशन, विश्वसनीय अभिलेख र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नेछौँ। अधिवेशन टार्न वा निर्वाचन प्रभावित पार्न अन्तिम समयमा सदस्यता दिने नियम बदल्ने छैनौँ।
पार्टीको वित्त सहयोगको स्रोत, आय(व्यय र लेखापरीक्षण सार्वजनिक गर्नेछौं।
आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ दिने छैनौं।
काम र मूल्याङ्कन समुदायमा गरेको काम, सार्वजनिक उत्तरदायित्व र परिणामलाई सम्मान गर्नेछौं। प्रचार, व्यक्तिगत छवि वा गुटको सेवाबाट वास्तविक योगदान छोप्ने छैनौं।