
सुनाखरी न्युज/ काठमाडौं ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् ।तिलोत्तमा नगरपालिका– १७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’ लाई प्रहरीले शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा थारुले प्रतिकार गर्दै भाग्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको थियो । खुट्टामा गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अपहरणमा परेकी बालिकालाई प्रहरीले शुक्रबार राति झन्डै ४० घण्टापछि तिलोत्तमा नगरपालिका – १० कान्छीबजारनजिकैको जंगलबाट सकुशल उद्धार गरेको थियो । बालिकाको अपहरणमा थारुको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको थियो ।
खोजीका क्रममा जंगलमा एक्लै छोडिएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई सकुशल उद्धार गरेपछि करिब १ सय ५० प्रहरी परिचालन गरेर थारुको खोजी गरिएको र शनिबार राति धानखेतमा लुकेको अवस्थामा उनलाई फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
‘पक्राउ परेको व्यक्ति अत्यन्तै आपराधिक मानसिकता बोकेको व्यक्ति रहेछ,’ उनले भने, ‘एक्लै महिला देख्यो कि घरभित्र पस्ने, नुहाउन लागेकी महिलालाई आक्रमण गर्ने, महिलाको पिछा गर्ने गरेर गाउँभरीका महिलालाई सताउँदै आएको रहेछ ।’