२०८३ आश्विन १८ , आइतवार

कांग्रेसको १५ औं महाधिवेशन खुलामञ्चमा सुरू हुँदै, आज उद्घाटन समारोह

Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह  काठमाडौंको खुलामञ्चमा आज दिउँसो २ बजे सुरू हुनेछ।

विभिन्न दलका शीर्ष नेताहरूलाई  उद्घाटन समारोहमा निम्ता गरिएको छ।

 

महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए।

त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो। यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।

भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ।

आज उद्घाटन र असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ।

त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।

निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य आउनेछन्। निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ। सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी छ।

विद्युतीय मेसिनबाट मतदान हुनेछैन। एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आकलन छ।

केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन्।