२०८३ आश्विन १७ , शनिवार

राष्ट्रिय स्वाभिमानदेखि जनताको खुशीसम्म : नागरिक शक्ति नेपालको दृष्टिकोण

khusi

 

सुनाखरी न्युज/ काठमाडौं ।
नागरिक शक्ति नेपाल नेपाली राष्ट्रियता, सार्वभौम सर्वोच्चता, राष्ट्रिय एकता, स्वधर्म, संस्कृति, इतिहास र मौलिक सभ्यताको संरक्षण गर्दै सुशासित, समृद्ध, आत्मनिर्भर र स्वाभिमानी नेपालको निर्माण गर्ने संकल्पका साथ आफूलाई दृढतापूर्वक उभ्याएको राजनीतिक संगठन हो। हाम्रो दृष्टिमा राष्ट्र केवल भूगोलको नाम होइनस यो इतिहास, संस्कृति, सभ्यता, राष्ट्रिय स्वाभिमान र साझा भविष्यको जीवन्त आधार हो। त्यसैले नेपालको मौलिक पहिचान, अखण्डित सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै देशको समग्र रूपान्तरण गर्नु आजको अपरिहार्य आवश्यकता हो।

हामी यस्तो नेपाल निर्माण गर्न चाहन्छौँ जहाँ राज्य नागरिकभन्दा माथि होइन, नागरिकको सेवकका रूपमा स्थापित होस्स जहाँ सार्वजनिक पद सुविधा र प्रतिष्ठाको माध्यम होइन, जिम्मेवारी र जवाफदेहिताको प्रतीक बनोस्स जहाँ राज्यकोष केही सीमित वर्गको सुविधा विस्तार गर्न होइन, आम नागरिकको जीवनस्तर उकास्न प्रयोग होस्। जनताको खुशी नै विकास हो भन्ने मान्यतालाई राज्य सञ्चालनको मूल दर्शन बनाउँदै विकासको केन्द्रमा नागरिकको जीवन, सम्मान, सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी र समृद्धिलाई राखिनुपर्छ।

नेपालको सामाजिक विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति हो। तर जातीय, क्षेत्रीय वा अन्य पहिचानलाई राजनीतिक विभाजनको आधार बनाउने प्रवृत्तिले राष्ट्रिय एकता कमजोर पार्छ। त्यसैले जातिवाद र क्षेत्रीयतावादी अवधारणाको अन्त्य गर्दै सबै नेपालीलाई समान राष्ट्रिय पहिचान र समान नागरिक अधिकारको आधारमा जोड्ने राजनीतिक संस्कृतिको विकास आवश्यक छ। परस्पर घृणा, अविश्वास र विभाजन सिर्जना गर्ने राजनीतिक क्रियाकलापमा पूर्णविराम लगाउँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक सम्मानलाई नेपालको राजनीतिक जीवनको आधार बनाउनुपर्छ।

राज्य संरचनालाई सरल, प्रभावकारी र जनताको नजिक बनाउँदै अधिकारसम्पन्न स्थानीय तहसहित दुई तहको सरकारको अवधारणालाई अघि बढाउनु आवश्यक छ। अनावश्यक प्रशासनिक संरचना र दोहोरो जिम्मेवारी घटाउँदै राज्यको स्रोत जनताको सेवा र विकासमा केन्द्रित गर्नुपर्छ। संसद्लाई कानून निर्माण, नीति निर्धारण र सरकारमाथिको प्रभावकारी निगरानीमा केन्द्रित गर्दै राज्य सञ्चालनलाई थप उत्तरदायी बनाउनुपर्छ। सार्वजनिक जीवनमा जवाफदेहिता, नेतृत्वको पुस्तान्तरण र जिम्मेवारीको स्पष्टता कायम गर्न एक व्यक्ति, एक पद, एक कार्यकालको अवधारणालाई संस्थागत गर्नुपर्ने हाम्रो धारणा छ।

शिक्षक, प्राध्यापक, कर्मचारी, चिकित्सक, मजदुर र विद्यार्थीले आफ्नो पेशागत तथा शैक्षिक अधिकारका लागि दलगत आधारमा संगठन खोल्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ। पेशागत संस्था र शैक्षिक क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्दै दक्षता, मर्यादा, पेशागत स्वतन्त्रता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ। ट्रेड युनियनका नाममा सार्वजनिक सेवा, उत्पादन र संस्थागत कार्यसम्पादनमा अनावश्यक अवरोध सिर्जना हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै श्रमिक अधिकार र संस्थागत अनुशासनबीच सन्तुलन कायम गर्नुपर्छ। श्रम र उत्पादनलाई राष्ट्र निर्माणको आधार बनाउँदै मजदुर तथा श्रमिक परिवारका बालबालिकाका लागि निःशुल्क गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको अनिवार्य व्यवस्था गरिनुपर्छ। किसानलाई केवल उत्पादन गर्ने वर्गका रूपमा होइन, राष्ट्रको अन्नदाता र अर्थतन्त्रको आधारका रूपमा सम्मान गर्दै उत्कृष्ट तथा योगदानशील किसानलाई राष्ट्रिय महापुरस्कार र सम्मान प्रदान गर्ने व्यवस्था विकास गर्नुपर्छ। किसानको उत्पादनलाई बजार, प्रविधि, भण्डारण, प्रशोधन र निर्यातसँग जोड्दै कृषि पेशालाई सम्मानित र आर्थिक रूपमा आकर्षक बनाउनु आवश्यक छ।

कर प्रणाली नागरिकमाथि बोझ थप्ने माध्यम होइन, राष्ट्रको उत्पादन र समृद्धि बढाउने साधन बन्नुपर्छ। त्यसैले सरल, पारदर्शी, न्यायपूर्ण र उत्पादनमुखी जनमुखी कर नीति आवश्यक छ। अनावश्यक तथा दोहोरो शुल्क र करको भार घटाउँदै कृषि, उद्योग, ऊर्जा, प्रविधि, रोजगारी र निर्यातलाई प्रोत्साहन गर्ने कर प्रणाली विकास गर्नुपर्छ। नागरिक र व्यवसायीलाई सहज हुने डिजिटल कर प्रणालीमार्फत कर प्रशासनलाई पारदर्शी, सरल र उत्तरदायी बनाउनुपर्छ। आज नेपालको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो—युवामा आफ्नै देशप्रतिको आशा कमजोर हुँदै जानु। लाखौँ युवाले रोजगारी र अवसरका लागि विदेशिनुपर्ने अवस्थालाई सामान्य मान्न सकिँदैन। युवाशक्तिमा स्वदेशप्रति आशा र भरोसा जगाउन शिक्षा प्रणालीमा व्यापक सुधार गर्दै पाठ्यक्रमलाई ज्ञानसँगै सीप, प्रविधि, उद्यमशीलता र स्वरोजगारसँग जोड्नुपर्छ। युवाका लागि स्वरोजगार, सीप विकास, उद्यम, स्टार्टअप तथा उत्पादनमुखी विशेष कार्यक्रम सञ्चालन गर्दै नेपालमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास पैदा गर्नुपर्छ।

देशमा स्वदेशी तथा विदेशी लगानीका लागि स्थिर, पारदर्शी, भ्रष्टाचाररहित र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ। उत्पादन, रोजगारी, प्रविधि र राष्ट्रिय अर्थतन्त्रको विस्तारमा योगदान गर्ने लगानीलाई प्राथमिकता दिँदै जलस्रोत, वन, पर्यटन, कृषि, ऊर्जा, खानी, जडीबुटी तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण र वैज्ञानिक उपयोग गर्नुपर्छ। प्राकृतिक सम्पदा भावी पुस्ताको समेत साझा सम्पत्ति भएकाले यसको दोहन होइन, संरक्षणसहितको दिगो विकास हाम्रो नीति हुनुपर्छ। गाँजा लगायत औषधीय गुण भएका जडीबुटीको वैज्ञानिक अनुसन्धान, नियमन तथा औषधीय र औद्योगिक प्रयोजनका लागि सम्भावनाको उपयोग गर्नुपर्छ। न्यायपालिका र कर्मचारी संयन्त्रलाई निष्पक्ष, सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउँदै आवश्यक पुनर्संरचना गरिनुपर्छ। प्रशासन नागरिकलाई दुःख दिने संरचना होइन, नागरिकको सेवा गर्ने संयन्त्र बन्नुपर्छ। ढिलासुस्ती, अनावश्यक प्रक्रिया, भ्रष्टाचार र पहुँचका आधारमा सेवा प्राप्त गर्ने प्रवृत्तिको अन्त्य गर्दै कार्यसम्पादनमा आधारित, परिणाममुखी र जनमैत्री प्रशासन निर्माण गर्नुपर्छ।

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै सुदृढ नेपाली राष्ट्रिय सेना तथा सक्षम, व्यावसायिक र जनउत्तरदायी प्रहरी संगठन निर्माण गर्नुपर्छ। राष्ट्रिय सुरक्षा कुनै व्यक्ति वा दलको विषय होइनस यो राष्ट्रको साझा दायित्व हो। त्यसैले सुरक्षा संयन्त्रलाई आधुनिक, सक्षम, अनुशासित र राष्ट्रिय हितप्रति प्रतिबद्ध बनाउनु आवश्यक छ। हामी यस्तो नेपाल चाहन्छौँ जहाँ गरिबीका कारण कुनै नागरिक उपचारबाट वञ्चित हुन नपरोस्, कुनै गर्भवती महिला अस्पतालको ढोकाबाट फर्किएर असुरक्षित अवस्थामा बच्चा जन्माउन बाध्य नहोस्, बाढीपहिरो वा विपत्तिले घरबार गुमाएका नागरिक खुला आकाशमुनि बस्न नपरोस्, किसान आफ्नो श्रमको उचित मूल्य नपाएर निराश हुन नपरोस् र युवाले आफ्नो भविष्य खोज्दै देश छोड्नुपर्ने बाध्यता महसुस नगरोस्।

हामी यस्तो राज्य व्यवस्था चाहन्छौँ जहाँ सिंहदरबारभित्रको सुविधा र गाउँको नागरिकको पीडाबीच असह्य दूरी नहोस्स जहाँ राज्यकोषबाट तलब खाने प्रत्येक व्यक्ति आफ्नो जिम्मेवारीप्रति उत्तरदायी होस्स जहाँ सार्वजनिक पदलाई अधिकारभन्दा बढी कर्तव्यका रूपमा बुझियोस् र जनताको करबाट चल्ने प्रत्येक संस्थाले जनताप्रति आफ्नो हिसाब दिनुपर्ने संस्कार स्थापित होस्। नेपाललाई केवल शासन गर्ने होइन, सुशासन गर्ने राज्य आवश्यक छ। केवल विकासको घोषणा होइन, नागरिकको जीवनमा अनुभूति हुने विकास आवश्यक छ। केवल रोजगारीको तथ्यांक होइन, युवाको हातमा काम र परिवारमा आम्दानी आवश्यक छ। केवल आर्थिक वृद्धिको कुरा होइन, किसान, मजदुर, व्यवसायी, कर्मचारी, विद्यार्थी र आम नागरिक सबैले आफ्नो जीवनमा परिवर्तन अनुभूति गर्ने समावेशी समृद्धि आवश्यक छ।

हामी विभाजनको राजनीति होइन, राष्ट्रिय एकताको राजनीतिस घृणाको राजनीति होइन, सामाजिक सद्भावको राजनीतिस परनिर्भरताको राजनीति होइन, उत्पादन र आत्मनिर्भरताको राजनीतिस सत्ता केन्द्रित राजनीति होइन, नागरिक केन्द्रित शासन व्यवस्था स्थापित गर्न चाहन्छौँ। नागरिक शक्ति नेपालको विश्वास स्पष्ट छ राष्ट्र बलियो भयो भने नागरिक बलिया हुन्छन्, नागरिक बलिया भए देश समृद्ध हुन्छ। त्यसैले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सुशासन, उत्पादन, सामाजिक न्याय र जनताको खुशीलाई एउटै राष्ट्रिय लक्ष्यमा जोड्दै समृद्ध, सुरक्षित, आत्मनिर्भर र स्वाभिमानी नेपाल निर्माण गर्नु हाम्रो मूल संकल्प हो।

“जनताको खुशी नै विकास हो र समृद्ध नेपाल नै हाम्रो साझा गन्तव्य हो।”