
सुनाखरी न्युज/ काठमाडौं ।
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अनसोर ( अस्ट्रेलिया भित्रैबाट) पनि भिसा आवेदन दिन पाउने छैनन् । साथै, हालको कोर्स पूरा हुन अझै १२ महिनाभन्दा बढी समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन ।
नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट अर्थात् अफसोर आवेदन दिनुपर्नेछ । त्यसो त यो नियम विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने बताइएको छ ।
नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ । अब विद्यार्थीले पुनरावलोकनको आवेदन दिए पनि निर्णय नआएसम्म अस्ट्रेलिया बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका क्रममा परिवार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको थियो । अध्ययनपछि काम गर्न पाउने पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत ल्याउन नदिने नीति सार्वजनिक भइसकेको छ ।अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजार पुर्याउने नीति अघि सारेको छ । विद्यार्थी भिसामा पनि पछिल्लो समय कडाइ गरिएको छ ।