
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित ब्यवसायी निरबहादुर विक (बिमल धमला) नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन्। लामो समयदेखि राजनीति, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय विकले विभिन्न संघसंस्था र राजनीतिक संगठनमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
२०५४ सालदेखि विक सुनचाँदी व्यवसायसँग जोडिएका छन्। २०५७ सालदेखि सुनचाँदी व्यवसायी संघ पाँचथरको जिल्ला सदस्यका रूपमा सक्रिय हुँदै उनले कोषाध्यक्ष र तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
त्यसपछि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा केन्द्रीय सदस्य तथा सचिवको जिम्मेवारी सम्हालेका विक हाल महासचिवका रूपमा व्यवसायीका हकहितका विषयमा सक्रिय छन्।
व्यवसायसँगै उनले कफी उद्योग तथा कृषि फार्ममार्फत स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान गर्दै आएको बताइन्छ।
विकको सामाजिक क्षेत्रमा पनि लामो संलग्नता रहेको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला सचिव हुँदै दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनी हाल तेस्रो कार्यकालमा समेत सक्रिय रहेको बताइएको छ।
सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्ष रहँदा फिदिम नगरपालिकास्थित शिलवाल परिसरमा श्री विश्वकर्मा बाबाको मन्दिर निर्माणलगायत सामाजिक कार्यमा पनि उनको सहभागिता रहेको छ।
विपद्का समयमा राहत तथा सहयोगका कार्यमा समेत विक सक्रिय हुँदै आएका छन्। हालै रसुवा, भोटेकोसी हुँदै त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमार्फत ४६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरी राहत कोषमा हस्तान्तरण गर्न संयोजनकारी भूमिका निर्वाह गरेको महासंघसम्बद्ध विवरणमा उल्लेख छ। प्रभावित व्यवसायी तथा कालिगडलाई प्रत्यक्ष भेटेर सहयोग उपलब्ध गराउने कार्यमा समेत उनी सहभागी भएका थिए।
नेपाली कांग्रेस पाँचथरको आमन्त्रित जिल्ला सदस्य हुँदै विक पार्टी राजनीतिमा सक्रिय भएका हुन्। उनी कांग्रेसको १३औँ, १४औँ र १५औँ महाधिवेशनका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका छन्।
नेपाल दलित संघको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका विक २०६९ फागुन १९ देखि २१ गतेसम्म झापाको बिर्तामोडमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ। त्यसपछि २०८१ असोजमा नेपाल दलित संघ केन्द्रीय तदर्थ समितिको सदस्यमा मनोनित भएको बताइएको छ।
त्यस्तै, स्कुल अफ डेमोक्रेसी पाँचथरको अध्यक्षका रूपमा पनि उनले लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनमा काम गर्दै आएका छन्।
२०६२-६३ को दोस्रो जनआन्दोलनमा सहभागी भएका विक त्यसयता भएका विभिन्न निर्वाचनमा पनि पार्टीको पक्षमा सक्रिय रहँदै आएका छन्। २०६४ र २०७० का संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म पार्टीका उम्मेदवारहरूको पक्षमा उनले सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ।
राजनीतिक यात्राकै क्रममा २०७६ पुस १९ गते राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने अवसर पाएका विक २०७९ को स्थानीय तह निर्वाचनपछि फिदिम नगरपालिकाको कार्यपालिका सदस्यसमेत बनेका थिए।
केन्द्रीय सदस्यमा उम्मेदवारीको तयारी
राजनीति, व्यवसाय र सामाजिक सेवामा लामो समयदेखि सक्रिय विकले अब नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टी संगठन, व्यवसायीका हकहित तथा सामाजिक क्षेत्रमा आफ्नो अनुभवलाई आगामी दिनमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उनको धारणा छ। विकले पार्टी संगठनलाई थप मजबुत बनाउने तथा व्यवसायी, श्रमिक, कालिगड र आम नागरिकसँग सम्बन्धित विषयलाई पार्टीको नीति तथा संगठनात्मक तहमा उठाउने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारीको तयारी गरेको बताइएको छ।
राजनीति, व्यवसाय र सामाजिक सेवामा समानान्तर रूपमा सक्रिय रहँदै आएका विकले पाँचथरमा आफ्नो राजनीतिक तथा सामाजिक उपस्थितिलाई निरन्तरता दिँदै आएका छन्। आगामी महाधिवेशनमा उनको उम्मेदवारी र राजनीतिक यात्रालाई कांग्रेसभित्रको संगठनात्मक गतिविधिसँग जोडेर हेरिएको छ।