
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुँदैछ। ०३६ सालमा बिपी कोइरालाले जनताको स्वतन्त्रता र अधिकारको लागि उद्घोष गरेको तथा ०४६ सालमा गणेशमान सिंहले आन्दोलन सुरु गरेको ठाउँ भएकाले आगामी महाधिवेशनका लागि खुलामञ्च चयन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
महाधिवेशन उद्घाटन र बन्दसत्रका लागि खुलामञ्चमा मञ्च तथा आवश्यक संरचना निर्माणको काम भइरहेको छ । यता विभिन्न जिल्लाका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने क्रम पनि जारी छ । तोकिएको समयभित्र अधिवेशन सम्पन्न हुन नसकेका कारण महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने प्रक्रिया भने प्रभावित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार कतिपय निर्वाचन क्षेत्रमा अझै प्रतिनिधि चयनको प्रक्रिया चलिरहेको छ ।
समितिले वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्ने क्रम जारी रहेको जनाएको छ । निर्धारित समयमा अधिवेशन हुन नसकेपछि बाँकी रहेका सबै तहका अधिवेशन सम्पन्न गरिसक्न कांग्रेसले बिहीबारसम्मको समय दिएको छ । यसपटक कांग्रेस महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ।