
सुनाखरी न्युज/ काठमाडौं ।
सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद भएको जानकारी दिए ।
सीमा जाँचकक्षमा शङ्कास्पद रुपमा प्रस्तुत भएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चूरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पटेलबाट बरामद गरिएको गरगहनाको तौल दुई किलो ६०५ ग्राम रहेको छ । गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकामा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
बरामद अवस्थाका गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार, प्रचलित मूल्यका आधारमा उक्त सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको छ ।