२०८३ आश्विन १४ , बुधवार

विमानमा दुई पाइलटबीच कुटाकुट हुँदा आकस्मिक अवतरण

fly-dubai-1726307704

सुनाखरी न्युज/ काठमाडौं ।

फ्लाइ दुबईको एउटा यात्रुवाहक विमानमा दुई पाइलटबीच हिंसात्मक झडप भएपछि विमानलाई साउदी अरबतर्फ मोडिएको छ।

फ्लाइ दुबईको उडान नम्बर एफजेड–१०७३ बुधबार दुबईबाट इसराइलको तेल अभिभतर्फ उडेको विमान साउदी अरबको तबुक स्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित अवतरण गरेको हो। विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाइ दुबईले जनाएको छ।

 

उडानका क्रममा दुई पाइलटबीच झडप भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। झडपको कारण भने तत्काल स्पष्ट भएको छैन।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले सुरुमा ‘७७००’ कोड प्रसारण गरेको थियो। यो सामान्य आपत्कालीन अवस्थाको संकेत हो।

त्यसपछि विमानले ‘७५००’ कोड प्रसारण गरेको थियो। यो विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउने संकेत हो। पछि फेरि ‘७७००’ कोड प्रसारण गरिएको थियो।

विमानको उचाइ पनि केही समयमै तीव्र रूपमा घटेको थियो। फ्लाइट ट्र्याकिङ तथ्यांक अनुसार विमानले दुई मिनेटभन्दा केही बढी समयमा करिब १७ हजार ४०० फिट उचाइ गुमाएको थियो।

अर्को विवरण अनुसार विमान करिब ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो।

घटनाबारे जानकारी पाएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्रीले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए।

इसराइली सेनाका अनुसार आपत्कालीन संकेत आएपछि इसराइली वायुसेनाका लडाकु विमानहरू पनि परिचालन गरिएका थिए।

इसराइली अधिकारीहरूले विमानमा ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन्। केही इसराइली सञ्चारमाध्यमले एक पाइलटले अर्को पाइलटमाथि चक्कुले आक्रमण गरेको दाबी पनि गरेका छन्।

यात्रु र चालक दलका सदस्यहरूले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ।