
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार संख्या बढिरहेका बेला कारोबार रकममा भने गिरावट आएको छ। एक महिनाको अवधिमा क्यूआरमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँभन्दा बढीले घटेको हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३-८४ को साउनमा क्यूआर कोडमार्फत १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। भदौमा यस्तो कारोबार रकम घटेर १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।
यसअनुसार साउनको तुलनामा भदौमा क्यूआरमार्फत भएको कारोबार रकम २५ अर्ब ४७ करोड ७० लाख रुपैयाँले घटेको छ । प्रतिशतका आधारमा हेर्दा कारोबार रकममा करिब १३।४ प्रतिशतको कमी आएको देखिन्छ ।
तर कारोबार संख्याको अवस्था भने फरक छ। साउनमा क्यूआरमार्फत ६ करोड ९५ लाख ८९ हजार ९७७ वटा कारोबार भएकोमा भदौमा यस्तो कारोबार संख्या बढेर ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको छ । अर्थात् एक महिनामै क्यूआर कारोबार संख्या २८ लाख ४८ हजार ३२५ ले बढेको हो ।