
सुनाखरी न्युज/ काठमाडौं ।
आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।
हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।
सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।
बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।
सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।
यस्तो छ शास्त्रीय विधान
प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमा यी सबै तिथिहरूमा पितृहरूको तर्पण र श्राद्ध गरिन्छ, जसबाट पितृहरूको आत्माको शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यसै पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा आमावास्य तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा कहिले मृत्यु भएको थियो र त्यस समयमा कुन तिथि थियो त्यही तिथिकै आधारमा तय गरिन्छ । तत् पश्चात पितृहरूलाई तर्पण र पिण्डदान र भोजन अर्पण गरिन्छ, जसलाई उनीहरूको आत्माको तृप्तिका लागि गरिन्छ । यो कर्म सामान्यतया गाईको दूध अनि खिरबाट बनाइएका पिण्डलाई स्वधा (पितृहरूको पत्नी) उचारण गर्दै गुरु पुरोहितको निर्देशन अनुसार पिण्ड अर्पण गरिन्छ ।
पवित्र जलले पितृहरूको नाममा अर्पण गर्ने कर्म तर्पण हो। यसलाई गङ्गाजल वा अन्य पवित्र जलमा पञ्चामृतसहित कुश, जउ, तिल, फूल, चन्दन आदि स्रोतहरूबाट सम्पन्न गरिन्छ । हिन्दू धर्मग्रन्थहरूमा सोह्र श्राद्धको गहिरो व्याख्या गरिएको पाइन्छ । विशेष गरी ‘गरुड पुराण’, ‘विष्णु पुराण’, र ‘महाभारत’ जस्ता ग्रन्थहरूमा पितृपक्ष र श्राद्ध कर्मको महत्त्व बताइएको छ ।
एकोद्दिष्ट ९वार्षिक तिथिका दिन गरिने० श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध (पितृपक्षमा गरिने श्राद्ध) अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने शास्त्रीय विधान छ । प्रत्येक गृहस्थीले श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ ।
अरूको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । सहरी क्षेत्रमा अरूको घरमा डेरा गरी बस्ने श्राद्ध कर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र, नदि, मन्दिरमा या तुलसीको मठमा गर्नु उपयुक्त हुन्छ ।
सोह्रश्राद्धमा पितृहरू पितृलोकबाट पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ, यसै पक्षमा आफूले पञ्चभौतिक शरीर त्याग गरेको तिथिमा आफ्ना सन्तान तथा सन्ततिहरूबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्मको आशा राखेका हुन्छन् ।
पितृहरू आफ्ना सन्तानले तर्पण, पिण्डदान, श्राद्ध, भोजन र दान श्रद्धापूर्वक गरेर खुसी पार्न सकुन भन्ने चाहन्छना राख्नसका साथै श्राद्धकर्तालाई वंश वृद्धि हुने, परिवारमा सुख छाउने, शान्ति मिल्ने, समृद्धि प्राप्त हुने र धनसम्पत्तिको आशीर्वाद दिएर पितृलोक फर्कन्छन् भन्ने शास्त्रोक्त कथन छ ।