
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनस्थित ह्वाइट हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ । व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र इरानको युद्धलगायतका विषयमा गम्भीर मतभेद भइरहेका बेला विश्वका दुई महाशक्ति राष्ट्रहरूबीच यो भेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
ह्वाइट हाउसमा आयोजित विशेष स्वागत समारोहमा राष्ट्रपति ट्रम्पले सीसँग सन् २०१६ को आफ्नो पहिलो निर्वाचनदेखि नै व्यक्तिगत सम्बन्ध र आपसी सम्मानमा आधारित गहिरो मित्रता रहेको बताए ।
चिनियाँ राष्ट्रपति सीले दुई देशका हितहरू गहिरो रूपमा जोडिएको उल्लेख गर्दै प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने र त्यसको निश्चित सीमा हुनुपर्ने बताए। उनले उदाउँदो र स्थापित शक्तिबीच हुने द्वन्द्वको जोखिमलाई इङ्गित गर्दै अमेरिका र चीनले ’थ्युसिडिड्स पासो’ बाट बच्नुपर्ने चेतावनी दोहोर्याए ।
चिनियाँ राष्ट्रपति सीले ट्रम्पलाई ताइवान मामिलामा सावधानीपूर्वक अघि बढ्न गर्न आग्रह गरे । एक चीन नीतिप्रति प्रतिवद्ध भएको अमेरिकाले ताइवानसँग कुनै प्रत्यक्ष कुटनीतिक सम्बन्ध राखेको छैन ।
तर, अमेरिकाले ताइवानलाई रक्षात्मक हतियार उपलब्ध गराउँदै आएको छ । जसको बेइजिङले विरोध गर्छ । सीले अमेरिकालाई ताइवानलाई गर्ने हातहतियार बिक्री स्थायी रूपमा रोक्न र अत्याधुनिक चिप्सको निर्यात प्रतिबन्ध खुकुलो पार्न आग्रह गरेका छन् ।