
सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्ला केही वर्षको प्रवृत्ति हेर्दा चाडपर्वमा केही निर्माताका फिल्म प्रदर्शन हुनु नियमितजस्तै बनेको छ । लामो बिदा, उत्सवको माहोल र मनोरञ्जनमा खर्च गर्ने दर्शकको रुचिलाई ध्यानमा राख्दै निर्माताहरू यस अवधिमा फिल्म प्रदर्शन गर्न आकर्षित हुन्छन् ।यसवर्ष पनि दशैँमा तीनवटा सिनेमा बिदाको मौका पारेर प्रदर्शनमा आउँदैछन् । कात्तिक ६ गतेको चलचित्रलाई पनि दसैँमै आउने चलचित्र मान्ने हो भने चारवटा चलचित्र प्रदर्शन हुँदै छन् ।
असोज ३० गते शुक्रबार ‘१२ गाउँ–२’ र ‘आ बाट आमा–२’ प्रदर्शनमा आउनेछन् । असोज ३१ गते फूलपातीको दिन ‘६ माया छपक्कै–२’ प्रदर्शन हुँदै छन् । कात्तिक ६ गते ‘कबड्डी–५’ प्रदर्शन हुँदै छ । दसैँको बिदालाई लक्षित गर्दै असोज ३० र ३१ गते रिलिज हुने तीनवटै ‘१२ गाउँ–२’, ‘आ बाट आमा–२’ र ‘६ माया छपक्कै–२’ चलचित्र संयोगले दोस्रो सिक्वेल परेका छन् ।
यस वर्षको दशैं- तिहारलाई लक्षित गर्दै असोज र कात्तिकमा प्रदर्शन हुने नेपाली फिल्मको रिलिज क्यालेन्डर लगभग तय भएको छ । २३ असोजदेखि सुरु हुने प्रदर्शनको शृंखलामा ११ नेपाली फिल्म समावेश छन् । केही मितिमा दुईदेखि तीनवटा फिल्मबीच प्रतिस्पर्धा हुने देखिन्छ भने केही फिल्मले एकल प्रदर्शनको अवसर पाएका छन् । यो रिलिज क्यालेन्डरमा विदेशी फिल्मलाई भने समावेश गरिएको छैन । यस अवधिमा ठूला स्टारका विदेशी फिल्म पनि प्रदर्शनको तयारीमा रहेकाले नेपाली फिल्मले घरेलु प्रतिस्पर्धासँगै विदेशी फिल्मको चुनौतीसमेत सामना गर्नुपर्नेछ ।