२०८३ आश्विन ७ , बुधवार

कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

WhatsApp Image 2026-09-23 at 12.55.59 PM

सुनाखरी न्युज/ काठमाडौं ।

वैदिक सनातन धर्म, संस्कृति र नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ आगामी कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ ।  मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज  ( मुक्तिनाथ बाबा )  को सत्संकल्प अनुसार यो यात्रा प्रत्येक वर्ष दुई चरणमा आयोजना गरिँदै आएको छ । रामनवमीका अवसरमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम  ( नवलपरासी )  देखि श्रीमुक्तिनाथ भगवान्को सन्निधिसम्म र कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म देशव्यापी रूपमा मेची देखि महाकालीसम्म रथयात्रा हुनेछ ।

श्रीमुक्तिनाथमा आयोजना हुने ६ महिने  ( षाड्मासिक )  श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएलगत्तै कोजाग्रत पूर्णिमाका दिन औपचारिक रूपमा रथयात्राको शुभारम्भ गरिने आयोजकले जनाएको छ । देशका विभिन्न तीर्थस्थल र धार्मिक क्षेत्रमा विविध अनुष्ठानका साथ सञ्चालन हुने यो यात्रा हरिबोधिनी  ( ठूली )  एकादशीका दिन विधिवत रूपमा समापन हुनेछ । रथयात्रामा सहभागी हुन निमन्त्रणा दिने क्रममा जनकपुरधाम पुगेका रथयात्रा व्यवस्थापन समितीका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले पत्रकार भेटघाट गर्दै मुक्तिनाथ धार्मिक तीर्थस्थल मात्र नभई नेपालको आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानसँग जोडिएको अतुलनीय धरोहर भएको बताए ।

‘रथयात्रा एउटा धार्मिक अनुष्ठान मात्र नभएर नेपालको मौलिक सांस्कृतिक सम्पदालाई जोड्ने राष्ट्रिय अभियान पनि हो । मुक्तिनाथ, शालग्राम र कालीगण्डकीसँग जोडिएको हाम्रो हजारौँ वर्ष पुरानो आध्यात्मिक विरासतलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु यसको मुख्य ध्येय हो’, प्रवक्ता प्रपन्नाचार्यले भने । उनका अनुसार मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देश विदेशसम्म पुर्याउँदै जनस्तरमा सनातन धार्मिक चेतना, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नु यस यात्राको मूल उद्देश्य हो ।

आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सवको सुरुआत विसं २०५४ देखि भएको हो । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथ क्षेत्र हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र विशिष्ट तीर्थपरम्पराको संगम हो । विशेष गरी कालीगण्डकी क्षेत्रमा पाइने शालग्रामको वैष्णव परम्परामा उच्च महत्व छ । यही ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई आम नागरिकसम्म पुर्याउन महोत्सव र रथयात्रालाई निरन्तरता दिइएको हो । यस यात्रालाई कर्मकाण्डमा मात्र सीमित नराखी समाजमा नैतिक जीवनपद्धति, सदाचार, दया, करुणा र कर्तव्यबोध जागृत गराउने माध्यमका रूपमा अघि बढाइएको छ ।

यसका साथै, मुक्तिनाथ र शालग्राम परम्पराको प्रचार प्रसारले राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक पर्यटकको आगमन बढ्ने र यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन योगदान र्पुयाउने अपेक्षा गरिएको छ । मेचीदेखि महाकालीसम्मका मठमन्दिर, धार्मिक संस्था र स्थानीय समुदायलाई जोड्ने गरी तयारीका साथ देशभरका हरेक जिल्लामा आयोजक समिती गठन गरिँदैछ । अहिलेसम्म ५० भन्दा बढि जिल्लामा आयोजक समिती गठन भईसकेको आयोजकले जनाएको छ । आयोजक समितिले सम्पूर्ण सनातन धर्मावलम्बी, साधुसन्त, धार्मिक संघसंस्था तथा सर्वसाधारणलाई यस भव्य रथयात्रामा सहभागी भई राष्ट्रिय एकता र आध्यात्मिक जागरणको अभियानलाई सफल बनाउन आह्वान गरेको छ ।