२०८३ आश्विन ७ , बुधवार

प्रहरीमाथिको दुर्व्यवहार कुशासनको उदाहरण हो : देवप्रकाश त्रिपाठी

traffic-

सुनाखरी न्युज/ काठमाडौं ।

नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले प्रहरीमाथि हुने दुर्व्यवहार र आक्रमणका घटना बढ्नु राज्यमा देखिएको अराजकता र कुशासनको उदाहरण भएको बताएका छन्। कानुन कार्यान्वयन र सार्वजनिक सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्ने प्रहरी हरेक संकटमा अग्रपंक्तिमा खटिने गरेको उल्लेख गर्दै त्रिपाठीले सेवा आवश्यक पर्दा प्रहरी खोज्ने तर कानुन कार्यान्वयनका क्रममा प्रहरीमाथि नै आक्रोश, अपमान र आक्रमण गर्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको बताए। उनले चोरी–डकैती, हुलदंगा, प्राकृतिक विपत्ति, दुर्घटना, सीमा विवाददेखि विशिष्ट व्यक्तिको सुरक्षासम्म प्रहरी निरन्तर जिम्मेवारीमा रहने बताए। सडकमा ट्राफिक व्यवस्थापनको जिम्मेवारीसमेत प्रहरीले नै निर्वाह गरिरहेको उनको भनाइ छ।

विशेषगरी ट्राफिक प्रहरीमाथि हुने दुर्व्यवहारप्रति प्रश्न उठाउँदै त्रिपाठीले सडक अनुशासन कायम गराउन खोज्दा प्रहरीमाथि नै आक्रमण हुनु गम्भीर विषय भएको बताए। हालै काठमाडौंमा ट्राफिक कारबाहीको क्रममा दुई चालकले शरीरमा आगो लगाएको घटनातर्फ संकेत गर्दै उनले घटनालाई एकपक्षीय रूपमा हेर्न नहुने धारणा राखे। कानुन कार्यान्वयन गराउने निकायलाई कमजोर बनाएर सडक अनुशासन र सार्वजनिक सुरक्षा कायम गर्न नसकिने उनको भनाइ छ।

“ट्राफिक प्रहरीले दुई दिन मात्रै काम बन्द गरिदियो भने सडकमा कस्तो स्थिति उत्पन्न होला रु” भन्दै त्रिपाठीले प्रहरीको भूमिकाको महत्व बुझ्न आग्रह गरे। उनले सडकलाई देशको ऐनाका रूपमा व्याख्या गर्दै नागरिकमा कानुन पालना र सार्वजनिक अनुशासनको संस्कार विकास हुनुपर्ने बताए। प्रहरीलाई अपमान, तिरस्कार र अवज्ञा गरेर शान्ति, सुरक्षा र सुशासनको कल्पना गर्न नसकिने भन्दै त्रिपाठीले नागरिकलाई विवेकपूर्ण व्यवहार गर्न आग्रह गरे।