
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भू- भागमा अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम रहेकाले मौसम र बाटोको अवस्था बुझेर मात्र सवारी साधन सञ्चालन गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ । यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन भनेको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ । साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । बिहीबारदेखि रातिको समयमा पनि यात्रा नगर्न समेत महासंघले आह्वान गरेको छ ।