२०८३ आश्विन ७ , बुधवार

बंगालको खाडीको न्यूनचाप थप शक्तिशाली बन्दै , शुक्रबारदेखि चार प्रदेशमा हुनेछ अति भारी वर्षा

weather-1

सुनाखरी न्युज/ काठमाडौं ।

बंगालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

हालको प्रक्षेपणअनुसार उक्त प्रणाली आगामी असोज ७ गते आसपास थप शक्तिशाली बन्दै ‘डिप्रेसन’का रूपमा दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिमको स्तर र त्यसबाट पर्न सक्ने सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ।

प्रणालीको गतिविधिमाथि विभागले निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसमको अवस्था र प्रणालीको थप विकासअनुसार आवश्यक सूचना तथा पूर्वानुमान अद्यावधिक गर्दै जाने विभागको भनाइ छ।यसको प्रभावले आजदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने बताइएको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानसहित अन्य प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति वर्षाको गतिविधि थप विस्तार हुने पूर्वानुमान छ। कोशीका धेरै स्थानमा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशीका थोरै स्थान तथा बागमतीको पहाडी र तराई क्षेत्र एवं गण्डकी र लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशीको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।