सुनाखरी न्युज/ काठमाडौं ।
होटल संघ नेपालको आयोजनामा “हस्पिटालिटी क्षेत्रमा अप्रेन्टिसशिप सुदृढीकरणसम्बन्धी नीति संवाद” कार्यक्रम सम्पन्न भएको छ ।
हस्पिटालिटी क्षेत्रमा अप्रेन्टिसशिप कार्यक्रमलाई थप विस्तार, व्यवस्थित तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रम होटल संघ नेपालका अध्यक्ष विनायक शाहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सीटीइभीटीका कार्यवाहक सदस्य–सचिव अनोज भट्टराई, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारी, सीटीइभीटीअन्तर्गतका शिक्षालयका प्रिन्सिपल, निजी हस्पिटालिटी कलेजका प्रिन्सिपल, विभिन्न होटलका मानव संशाधन प्रमुख तथा होटल व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकमा होटल तथा हस्पिटालिटी व्यवसायको विस्तारसँगै रोजगारीका अवसरसमेत बढ्दै गएको उल्लेख गर्दै उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादनमा अप्रेन्टिसशिप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले डिप्लोमा तहमा अप्रेन्टिसशिप कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष शाहले प्रि–डिप्लोमा तहमा अप्रेन्टिसशिपका लागि उपलब्ध कोटा वृद्धि गर्नुपर्ने तथा कार्यक्रमको गरिमा र प्रभावकारिता अभिवृद्धि गर्न निजी क्षेत्रका शिक्षण संस्थालाई समेत सम्बन्धन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०८३ को नियम १६(क) मा व्यवस्था भएबमोजिम उद्योगले अप्रेन्टिसशिप कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विपद्बाट प्रभावित क्षेत्रका विद्यार्थीलाई समेत रोजगारीसँग जोड्नुपर्ने उल्लेख गर्दै नुवाकोटस्थित पोस्टबहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका १९ जना औद्योगिक प्रशिक्षार्थीलाई उनीहरूको रुचि तथा चाहनाअनुसार होटल उद्योगमा रोजगारी उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा होटल संघ नेपालका महासचिव साजन शाक्यले होटल तथा हस्पिटालिटी क्षेत्रको बढ्दो विस्तारसँगै दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गएको बताउनुभयो । उहाँले उद्योगको मागलाई सम्बोधन गर्न अप्रेन्टिसशिप कार्यक्रमको कोटा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव शाक्यले होटल संघ नेपाल विगत चार वर्षदेखि अप्रेन्टिसशिप कार्यक्रमसँग आबद्ध हुँदै प्रशिक्षार्थीहरूलाई सीप विकासका लागि होटलमा प्लेसमेन्ट उपलब्ध गराउन सहयोग गर्दै आएको स्मरण गराउनुभयो । साथै, यस्ता कार्यक्रमहरू निजी क्षेत्रले समेत सहज रूपमा सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा होटल हिमालयका मानव संशाधन प्रमुख विष्णु श्रेष्ठले होटलमा प्रशिक्षार्थीलाई कार्यरत गराउँदा उनीहरू एउटै विधामा मात्र सीमित नभई विभिन्न विधामा काम गर्न इच्छुक हुने गरेको, तर सम्बन्धित विधाका लागि आवश्यक सीप पर्याप्त नहुँदा व्यावहारिक कठिनाइ उत्पन्न हुने गरेको बताउनुभयो । अप्रेन्टिसशिप कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित शिक्षालयबाट समय–समयमा प्रशिक्षार्थीको मूल्यांकन तथा अनुगमन हुनुपर्ने उहाँको भनाइ थियो ।
साना तथा घरेलु महासंघका उपाध्यक्ष मोहन कटुवालले अप्रेन्टिसशिप कार्यक्रमले उद्योग र प्रशिक्षार्थी दुवैलाई लाभ पु¥याएको बताउँदै यसमार्फत विद्यार्थीहरू सीपयुक्त तथा रोजगारीका लागि योग्य बन्ने उल्लेख गर्नुभयो । उहाँले अप्रेन्टिसशिपमार्फत सीप हासिल गरेका प्रशिक्षार्थीलाई कम्तीमा दुई वर्ष उद्योगमा काम गर्ने अवसर तथा वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । अप्रेन्टिसशिप कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक नीति तथा नियमलाई थप व्यावहारिक र लचिलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारलाई आवश्यक राय तथा सुझाव उपलब्ध गराउन सहज हुने उद्देश्यले टीभेट काउन्सिल गठन गरिएको जानकारीसमेत दिनुभयो ।
कार्यक्रमको खुला सत्रमा गेट कलेजका डीन डा. जीवक वज्राचार्य, आईएसटी कलेजका प्रिन्सिपल सम्झना बस्न्यात, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल रोहित दाहाल, सिल्भर माउन्टेन स्कुलका प्रबन्ध निर्देशक आभा शाह, होटल संघ नेपालका कार्यसमिति सदस्य अस्लेषा कार्की, एभरेस्ट होटलका मानव संशाधन प्रमुख नारायण पौडेल, होटल मुलबेरीका महाप्रबन्धक अमिर प्रधानाङ्ग तथा मदन आश्रित मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल निरज पुडासैनीले अप्रेन्टिसशिप कार्यक्रमको वर्तमान अवस्था, चुनौती तथा सुधारका उपायका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले हस्पिटालिटी क्षेत्रमा उद्योगको बढ्दो मागलाई सम्बोधन गर्न हाल कायम रहेको १०० जनाको कोटा आगामी दिनमा वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो । प्रदेश सरकारले शिक्षाको क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा अप्रेन्टिसशिप कार्यक्रमलाई थप सुदृढ, व्यवस्थित तथा दीर्घकालीन बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, सीटीइभीटीका कार्यवाहक सदस्य–सचिव अनोज भट्टराईले अप्रेन्टिसशिप कार्यक्रमको सफल कार्यान्वयनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै होटल संघ नेपालले यस क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले अप्रेन्टिसशिप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक नियमावली संशोधनको प्रक्रिया अघि बढिरहेको र डिप्लोमा तहको अप्रेन्टिसशिप कोर्ससमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रमले हस्पिटालिटी क्षेत्रमा दक्ष तथा रोजगारीका लागि तयार जनशक्ति उत्पादन गर्न सरकार, प्राविधिक शिक्षालय, निजी क्षेत्र तथा होटल व्यवसायबीच सहकार्यलाई थप सुदृढ बनाउने, अप्रेन्टिसशिपका अवसर विस्तार गर्ने तथा कार्यक्रमलाई दीर्घकालीन र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा साझा धारणा निर्माण गरेको छ ।