२०८३ आश्विन २ , शुक्रवार

५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

_Nepal-Rastra-Bank-

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार साविककै आकार र रङमा नयाँ नोट प्रचलनमा ल्याइएको हो। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा . डा . विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको संकेत नम्बर ट / २४ ०००००१ देखि ण / ३० ९९९९९९ सम्म रहने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गतेको सूचनाअनुसार ५० रुपैयाँ दरको सिरिज २०१९ अन्तर्गत ज / ५९ ०००००१ देखि ट/ ३३ ९९९९९९ सम्मका नोट जारी गरिने उल्लेख भए पनि व्यवहारमा ट / ३३ ९००००० सम्मका नोट मात्र प्रचलनमा ल्याइएको थियो। नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ५० अंकित छाप राखिएको छ भने मध्य भागमा हिउँ चितुवाको चित्र समावेश गरिएको छ।

नोटमा १ .२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा स्पष्ट देख्न सकिने र त्यसमा अंग्रेजीमा ‘NRB ’ लेखिएको छ। नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्य पनि समावेश गरिएको छ।