
सुनाखरी न्युज/ काठमाडौं ।
आज मिति २०८३ भाद्र ३० गते, मंगलबार, कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको सौहार्दपूर्ण निमन्त्रणामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार संघको नवगठित ३५औँ कार्यसमितिलाई विशेष बधाई, सम्मान तथा शुभकामना व्यक्त गरिएको छ । सो क्रममा माननीय मुख्यमन्त्रीज्यूले संघका नवनिर्वाचित अध्यक्ष अनिल कुमार साहज्यूको नेतृत्वमा रहनु भएका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू एवं महिला उद्यम समितिका पदाधिकारीहरूलाई खदा तथा माला पहिराएर स्वागत गर्दै सफल एवं उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
भेटघाटका क्रममा माननीय मुख्यमन्त्रीज्यूले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको तथा उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवर्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनु भएको छ । साथै, मुख्यमन्त्रीज्यूले निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार र निजी क्षेत्रबिचको साझेदारीलाई मजबुत बनाइने बताउँदै मोरङ उद्योग व्यापार संघसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिहरूमा संयुक्त रूपमा छलफल एवं बहस गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहज्यूले मुख्यमन्त्रीज्यूबाट प्राप्त न्यानो आतिथ्यता र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक एवं आर्थिक विकासमा संघले सरकारसँग काँधमा काँध मिलाएर सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै, संघका निवर्तमान अध्यक्ष अनुपम राठीज्यूले कोशी प्रदेश सरकार र निजी क्षेत्र बीच सशक्त समन्वय मार्फत नै औद्योगिक विकास, रोजगारी सिर्जना र समग्र प्रदेशको आर्थिक समृद्धिलाई सार्थक रूप दिन सकिने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू, संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा महिला उद्यमीहरूको उपस्थिति रहेको थियो ।