२०८३ भदौ ३१ , बुधवार

कृष्णभीरको नयाँ ट्र्याक १ असोजदेखि सञ्चालनमा आउँदै

Krishnavir

सुनाखरी न्युज/ काठमाडौँ  ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा आउँदो १ असोजदेखि सवारीसाधन पूर्णरूपमा सञ्चालन हुने भएका छन् । १४ भदौमा त्रिशूलीमा आएको बाढीले भासिएको सडकभन्दा १५ मिटरमाथिबाट खुलेको नयाँ ट्र्याकमा सवारी सञ्चालन गर्न लागिएको हो ।

नयाँ ट्र्याक खोलेको सडकमा अहिले ग्रेड मिलाउने काम भइरहेको छ । ग्रेड मिलाएर ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । त्यस क्षेत्रको सडक सुधारका लागि कृष्णभीरमा सडक विभागका प्राविधिक टोली खटिएका छन् । सडक भासिएको ७ दिनपछि २० भदौमा ‘डाइभर्सन ट्र्याक’ खोलिएको थियो ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीको प्राविधिक सहयोगमा ट्र्याक खोल्ने काम गरिएको हो । कृष्णभीर पहिरो व्यवस्थापन तथा अध्ययन समितिका संयोजक मन्दीप सुवेदी नेतृत्वको टोलीले पहिरो गएको खण्डको भौगोलिक अध्ययन र डिजाइनको काम गरेको हो । ‘

भासिएको खण्डको २ सय ५२ मिटर ट्र्याक खोलेर सुधार गर्ने काम भइरहेको सडक विभागका महानिर्देशक जैसीले जनाए ।