२०८३ भदौ ३० , मंगलबार

भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

GS_LALITPUR_DSC02045-scaled

सुनाखरी न्युज/ काठमाडौं ।

भदौ १० गते आएको भोटेकोशी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरू चिन्तित देखिएका छन्। कुनै पनि बेला त्रिशूली नदीमा बाढीको बहाव आएर नोक्सान पुर्‍याउने चिन्ताले उनीहरूलाई सताइरहेको छ। इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आउनुभएकी ४५ वर्षीया सानी गौचन आफूहरू अहिले असुरक्षित महसुस गर्ने बताउनुहुन्छ। भोटेकोशी बाढीपछि उहाँ बारम्बार झस्कने गरेकी छिन्।

“बाढी देखेका थियौँ, यस्तो विनाशकारी देखेका थिएनौँ। त्यो दिन सम्झँदा अझै पनि मनमा अत्यास लाग्छ,” गौचनले भनिन्। पानी पर्दा फेरि घर छोड्नुपर्ने हो कि भन्ने डरले उनलाई सताइरहेको छ। मुग्लिन बजारमा विगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आउनुभएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउनुहुन्छ। भदौ १० गतेदेखि उनले न फोन बन्द गर्न सकेकी छिन्, न रातिमा राम्ररी निदाउन सकेकी छिन्।

“कतै फोन गरेर घर छोड, बाढी आउँदैछ भन्ने सूचना आउँछ कि भन्ने डर छ,” उनले भनिन्। खोला सुसाउँदा त्रासमै बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै उनले पुर्ख्यौली पेसा नछोडेपनि अझै सुरक्षित महसुस नभएको बताइन्। स्याङ्जा स्थायी ठेगाना भई विगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आउनुभएका सेख अलाउद्दिन मियाँलाई अहिले पानीको आवाज सुन्नेबित्तिकै आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ। नुवाकोटमा रहेकी छोरी बेखबर भएपछि आफू पनि त्यस्तै हुने हो कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ। भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रोसँग निद्रा लाग्न छाडेको छ।

साना बालबालिका लिएर बस्नुपर्दा त्रिशूलीको डर थपिएको गुनासो गर्दै मियाँले अचानक आएको बाढीले नदी किनारमा व्यवसाय गर्न डर लाग्न थालेको बताए। त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउनेहरूलाई खाना खुवाउँदै आउनुभएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने कि नछोड्ने भन्ने दोधारमा हुनुहुन्छ। सँगै व्यवसाय गरेका साथीहरू छाडेर गएपछि आफू पनि दोधारमा रहेको बताउँदै उनले विनाशकारी बाढीपछि व्यवसाय र जीवन नै जोखिममा परेको बताए।

“बाढीसँग डर होइन, विनाशकारी बाढीसँगै हामीलाई डर छ,” पृथ्वी राजमार्गमा विनय गेष्ट हाउस तथा खाजा घर सञ्चालन गर्ने श्रेष्ठले भने। वर्षात् सुरु भएपछि त्रास बढ्ने भन्दै उनी अब के गर्ने सोचमा छन्। पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका व्यवसायी तथा परिवार हाल त्रासमै दिन र रात बिताउन बाध्य छन्। फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरूमा थपिएको छ। रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर त्रिशूली नदी कालीगण्डकीमा मिसिएपछि नारायणी बन्छ।