
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ ।
अर्थ मन्त्रालयले सोमबार जारी गरेको कार्ययोजनामा प्राथमिक सेयर निष्कासन (आईपीओ) छुटदेखि बजारमा अत्यावश्यक पूर्वाधार निर्माण, नेपाल स्टक एक्सचेन्जको पुनःसंरचनादेखि कर छुटसम्मका योजना छन् ।
भोटेकोशीमा आएको बाढीबाट अनपेक्षित रूपमा सूचीकृत जलविद्युत् आयोजनालगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना जारी गरेको हो ।
आईपीओ गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्डले तत्काल जारी गर्ने कार्ययोजनामा बताइएको छ । बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनका लागि क्षेत्रगत समूह क्रमशः जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि, औषधि उद्योगका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण प्रणाली, धितोपत्र बाँडफाँट प्रणालीलगायत नीतिगत एवं कानुनी सुधार बोर्डले तर्जुमा गरी २०८३ पुस मसान्तभित्र लागू गर्नुपर्ने निर्देशन कार्ययोजनामा छ ।
ऋणपत्र बजार, मुद्रा बजारलगायत उपकरण विकास गर्न सामूहिक लगानी कोषलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री बनाइने उल्लेख छ । दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउन बोर्डले यससम्बन्धी नीति तत्काल सार्वजनिक गरी २०८३ मंसिर मसान्तभित्र निर्देशिका एवं अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।