
सुनाखरी न्युज/ काठमाडौं ।
तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको गुप्तचर निकायले दिएको छ।
चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्रसमेत जोखिममा पर्न सक्छन्।
राज्य सुरक्षा मन्त्री चेन यीशिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्।
उनका अनुसार डीपफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्बिर र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ प्रयोग गरी राजनीतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ।
यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा ‘कग्निटिभ वारफेयर’ अर्थात् मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चेनले बताएका छन्।
यसबाट चीनको राजनीतिक सुरक्षा, संस्थागत सुरक्षा र वैचारिक सुरक्षामा प्रत्यक्ष खतरा उत्पन्न हुने उनको भनाइ छ।