
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको विवाद अझै मत्थर भएको छैन । जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरि गगन थापाले नेतृत्व हत्याएपछि चुलिएको विवाद झनै उत्कर्षमा छ । संस्थापन पक्षले असोज १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशनको तयारी गर्दै गर्दा इतर पक्ष समानान्तर महाधिवेशन गर्ने तरखरमा छ ।
गत वर्ष भदौ २३ को युवा पुस्ताको आन्दोलनपछि विशेष महाधिवेशन आयोजना गरि पार्टी कब्जा गरेका गगन थापा समूह नियमित महाधिवेशनमा फर्किएको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गरि पार्टीलाई पुरानै लयमा फर्काउने प्रयास गरेको हो ।
संस्थापन पक्षको महाधिवेशन तालिका अन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ । असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १० गते क्षेत्रीय अधिवेशन गरि असोज १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरि महाधिवेशन प्रक्रिया शुरु गरिसकेको छ । उक्त महाधिवेशन प्रक्रिया स्थगित गर्न इतर पक्षले दबाब दिइरहँदा संस्थापन पक्षले अस्वीकार गर्दै आएको छ ।
पूर्व सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनको समानान्तर तालिका सार्वजनिक गरि आफ्नै तालमा अघि बढेको छ । विशेष महाधिवेशनलाई अवैधानिक मान्दै आएको इतर पक्षका अन्य विभिन्न गुटहरुलाई साथमा लिएर अघि बढ्ने प्रयास संस्थापन पक्षले गरिरहँदा देउवा पक्ष भने आफ्नै ढर्रामा छ ।
विशेष महाधिवेशनपछि गगनको नेतृत्व अस्वीकार गर्दै दुई दुई पटक सर्वोच्च अदालतको ढोका ढक्ढकाएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको समूह पनि पछिल्लो समय संस्थापन पक्षसँग सहमति नजिक पुगेको छ ।