
सुनाखरी न्युज/ काठमाडौं ।
तीजको अवसरमा पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भिड लागेको छ । तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ। महिलाहरू रातो पहिरनमा सजिएर मन्दिर परिसरमा भेला भएका छन् भने पूजा आराधनासँगै नाचगान गरेर रमाइलो गरिरहेका छन्।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। बिहानैदेखि मन्दिरमा दर्शनार्थीको चाप बढेको छ।
तीज पर्वमा विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, सुख, शान्ति तथा पारिवारिक समृद्धिको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ। अविवाहित महिलाहरूले पनि असल पति प्राप्तिको कामना गर्दै व्रत बस्ने तथा शिव–पार्वतीको पूजा गर्ने चलन रहिआएको छ।
तीजको अवसरमा महिलाहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै नाचगान र सांस्कृतिक गतिविधिमार्फत पर्वको उल्लास मनाइरहेका छन्।
