
सुनाखरी न्युज/ काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन ( एमपीआईए ) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूलाई भदौ २४ गते हस्तान्तरण गरेको हो ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । यसबाट विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका नागरिकहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने विश्वास एमपीआईएले व्यक्त गरेको छ । एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले उक्त सहयोग रकम अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले विपद्का कारण दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सबै सदस्य संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।