
सुनाखरी न्युज/ काठमाडौं ।
सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद खगेन्द्र कर्णले गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटना उठाएका हुन् ।
कर्णले स्वास्थ्य उपचारको नाममा भइरहेको चरम लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
बैठकमा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदाङ्गो पारेको उनले बताए ।